बैतडी
बैतडीमा सडक निर्माण भएको ३२ बर्ष पछि समेत “हाइ वे” सडकहरुको स्थानिय नागरिककै नाममा रहेको छ ।
जमिन सडक विभागको नाममा हुनुपर्ने जमिनको लगतकट्टा नहुँदा जनताले नै कर तिर्नुपर्ने बाध्यता रहेको छ ।
महाकाली राजमार्ग अन्तरगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडक तथा सदरमुकाम गोठलापानी–जुलाघाट सडकको लगतकट्टा गर्न बाँकी रहेको छ ।
सतँबाज गोकुलेश्वर सडक अन्तरगत न्वाली देखी गोकुलेश्वर सम्मको करिव २८ किलोमिटर सडक जनताकै नाममा रहेको जिल्ला मालपोत कार्यालय बैतडीको रिर्पोटले देखाउँछ ।
यसैगरी गोठलापानी–जुलाघाट सडकको बस्कोट देखी जुलाघाट सम्म १०किलोमिटर सडक जनताकै नाममा देखिएको छ । यो बाहेक प्रदेश गौरवका सडक र स्थानियतह अन्तरगतका सबै सडकहरु जनताकै नाममा रहेकाछन् ।
सडकको लगतकट्टा नहुदाँ कर तिर्ने बाध्यता मात्रै नभई सडक बिस्तारका बेला झडप हुने, जग्गाको बैंकीङ्ग कारोबार गर्दा समस्या हुने, क्षतिपुर्ति पाउदाँ कम मुल्यांकन हुने, जग्गाधनी संग बढी जग्गा देखिने लगायतका समस्या रहेको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठले बताए ।
आफ्नो घर नजिकै सडक नदेखिने भएकाले जमिनको भाउ समेत नबढेको डिलाशैनी गाउँपालिका–६ का देवेन्द्र मालले बताए । ‘जमिनको लगत कट्टा गरी समस्याको समाधान गरिदिन हाम्रो पहुँच निकायहरु जस्तै गाउँपालिका र सडक डिभिजन कार्यालय पाटन संग कुरा राख्ने गरेका छौँ, तर समस्या समाधानको पहल भएको छैन् ।,’ उनले भने ।
जमिनको लगतकट्टाका लागि जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा केहि व्यक्तिले निवेदन समेत दिएकाछन् । तर नापी कार्यालयकै प्रमुख विवेक चन्दको जमिन समेत सडकमा परेकाले कर तिर्ने गरेकाछन् ।
उनले भने,‘सडक डिभिजन कार्यालय र जग्गाधनी दुवै पक्षको सक्रियता देखिएमा जग्गाका नापजाँच गरेर लगतकट्टा गर्न सकिनेछ । लगतकट्टाको प्रकृया सुरु भएमा हाम्रो कार्यालयका तर्फबाट गरिने भुमिका निर्वाह गछौँ ।’
सडकको जमिनको लगतकट्टा जरुरी रहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका डिभिजन प्रमुख मुकुन्द लामिछानेको भनाई छ । यो बिषय सडक विस्तारका बखत उठ्ने गरेको र समस्याको रुपमा रहेकाले समाधानको उपाय खोज्ने उनले बताए । आफु भरखरै डिभिजन प्रमुखको रुपमा आएकाले समस्या बुझेर समाधानको पहल थाल्ने बताए ।