बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका वडा न.७ का वडाअध्यक्ष हरिदत्त बडु आफुले मासिक रुपमा प्राप्त गर्दै आएको तलव सुविधा वाफतको रकम समाजसेवामा खर्च गर्दै आएकाछन् ।
२० बर्ष नेपाल प्रहरीमा सेवा गरेका बडु तलवको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, सडक सफाई तथा विपन्न नागरिकलाई जिवनयापनमा सहजताका लागि खर्च गर्दै आएका छन् ।
बडुले हालसम्म बुझेको ११महिनाको करिव २लाख रकम सामाजिक कार्यमा खर्च गरेका छन् । उनले १लाख ५०हजार सडक सफाईमा लगाएर आफ्नो वडामा नियमीत सवारीसाधन गुड्ने बनाएकाछन् ।
यसैगरी वडाभित्रका केहि विद्यार्थीलाई ५हजारका दरले छात्रवृत्ति प्रदान गरेका छन् भने, केहि विपन्न व्यक्तिहरुको घरमा विद्युत जडान गरिदिएका छन् । आगामी दिनको तलबबाट वडाका बृद्धवृद्धाहरुलाई तिर्थस्थल भ्रमण गराउने उदेश्य रहेको उनले बताए ।
बडुले भने,‘मैले कर्मचारी बाट अवकाश लिएपछि राजनितिमा आएको हुँ, राजनिति समाजसेवा हो भन्ने बुझेर यो क्षेत्रमा आएको व्यक्तिलाई पैषाको लोभ हुनु हुदैँन् । मैले मासिक रुपमा पाउने मेरो सुविधाको रकम गरिव र विपन्नलाई सहयोग गर्दैमा खर्च हुन्छ । आगामी दिनमा वृद्धवृद्धाहरुलाई तिर्थस्थल पु¥याउने बिचार गरेको छु । वडाबासीको माग अनुसार र मैले देखेका विपन्न वडाबासीलाई सहयोग गर्ने चाहाना छ ।’
वडाअध्यक्ष बडुले २० बर्ष नेपाल प्रहरीमा जागीर गरेर १ मिनि ट्रक खरिद गरेका छन् । उक्त ट्रकको भाडाबाट आएको रकमले घरपरिवारको खर्च चलाउने गरेकाछन् । उनि जनप्रतिनिधि भएकाले सरकारी पेन्सन भत्ता भने पाउदैनन् ।
‘मासिक रुपमा २५ हजारको हाराहारीमा नगरपालिकाबाट रकम प्राप्त हुन्छ उक्त रकम समाजसेवामै लगाउँछु’ वडाअध्यक्ष बडुले भने ।
आफ्नो परिवार चलाउन समस्या नभएपनि कतिपय वडाबासीको दैनिक जिवन निकै असहज देखेकाले तलवको रकम समाजसेवामा लगाउने गरेको उनले बताए ।
वडाअध्यक्ष बडु नेकपा एमालेबाट विजयी भएका हुन् ।