बैतडी ।
बैतडीमा पशुहरुमा लम्पि स्कीन रोगको प्रकोप व्यापक रुपमा देखिएको छ । किसानहरुले पालेका अधिकांश गाई र भैसीमा उक्त रोगको प्रकोप देखिएको हो ।
पशुहरुमा उक्त रोगको प्रकोप देखिएसंगै दशरथचन्द नगरपालिकाले किसानको घरमै पुगेर उपचार गर्ने अभियान सञ्चालन गरेको छ । भाइरसबाट लाग्ने उक्त रोगको उपचार नभएपनि रोकथामको औषधी वितरण गरिरहेको नगरपालिकाका पशुसेवा शाखा प्रमुख इश्वरी दत्त भट्टले बताए ।
लम्पि स्कृन रोगको प्रभाव रहेसम्मका लागि ४जना थप जनसक्ती भोलेन्टरको रुपमा खटाएको उनले बताए ।
भट्टले भने, “यो रोगको प्रकोप तिब्र रुपमा फैलिएको छ । म आफै वडा न. ५, ६ र ८ मा खटिएको छु । अन्य वडाहरुमा पशु प्राविधिकहरु खटाएका छौँ । २ महिनाका लागि भोलेण्टरको रुपमा ४ जना थप प्राविधिक खटाइएको छ ।”
यस रोगको नेपालमा खोप नभएको हुदाँ लक्षणहरुको उपचार र अन्य रोगको संक्रमण हुन नदिने आधारमा औषधी दिइरहेको भट्टले बताए । लम्पि स्कीन रोगको रोकथामका लागि औषधीहरु मगाइएको दशरथचन्द नगरपालिकाका सुचना अधिकारी राजेन्द्र बिष्टले बताए ।
लम्पि स्कीन रोगको प्रकोप देखिएका पशुहरुमा सरीरभरी दाग र गाठाँहरु आउने, बढी ¥याल काड्ने, सरीरका अंगहरु सुन्निने, सुत्न नसक्ने, खाना नखाने तथा दुध घटाउने लगायतका समस्या देखिएको छ ।
बिरामी पशुहरुमध्ये बुढो उमेरका पशुहरु मर्न थालेको किसानहरुले बताएकाछन् ।
बैतडी जिल्लाभरी र दार्चुलामा समेत यो समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका डाक्टर बिसाल पाठकले बताए । उनले भने,‘नेपालमा यसको खोप विकास भएको छैन् । तरपनि बढी जोखीम हुन नदिनका लागि उपचार गरिरहेका छौँ । बिरामी पशु मध्ये ५देखी १०प्रतिशत सम्म मरिरहेको देखिन्छ । पशुहरुमा यसको सक्रमण बढ्दैछ । केहि समयपछी रोकिएला ।’
लम्पि स्कृनको संक्रमण देखिएका पशुहरुलाई पोषणयुक्त खानेकुरा खानदिने गोठको सरसफाईमा ध्यान दिने, झिंगा भुसुना र लामखुट्टेको व्यवस्थापन गर्ने, संक्रमीत पशुलाई छुट्टै राख्ने लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए । प्राविधिकको सल्लाह अनुसार हेरचाह गरी खानपीनमा ध्यान दिएमा एकदुई हप्तामै संक्रमण बाट मुक्त हुने उनले बताए ।
बैतडी जिल्लाभर ३ हजार बढी पशुमा लम्पि स्कीनको समस्या देखिएको छ भने ३सय पशुहरु मरिसकेकाछन् ।