बैतडी ।
मान्छेको मृत्यु भएमा जलाउने वा खाडलमा पुर्ने चलन जताततै छ । तर बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेही भमतोलामा भने गाउँभरीका कसैको पनि मृत्यु भएमा एकै खाडलमा शव पुर्ने गरिन्छ ।
भमतोला जंगल स्थीत जेठि बहुरानी जङ्गलमा बर्षौ पहिला बनाइएका २ खाडलमा करिव १ सय ५० दलित परिवारका मृतकको शव पुर्ने गरिन्छ ।
शव पुर्नका लागि पुस्तौँ पहिला ५–५ फिटका २ खाडल बनाइएको ५७ बर्षिय धौले विकले बताए ।
उनले भने, “पुर्खा देखिनै हाम्रो यस्तै चलन छ, परम्परा मान्नै प¥यो भनेर मानेका छौँ । नजिकै जमाडी नदि भएपनि त्यहाँ स्थीत चिहानमा हामीले शव लग्न पाइदैन्, धार्मीक परम्परा यस्तै हो जस्तो लाग्छ ।”
तल्लादेहीका बसौरा, डाँडाखाली र पोखरी गाउँको दलित समूदायका चुनारा, लुहार र पार्की समुदायका व्यक्तिको मृत्यु भएमा एकै खाडलमा पुर्ने गरिएको हो ।
यी गाउँका व्यक्तिहरुको दैनिक मृत्यु भएपनि पुरानो शव निकाल्दै नयाँ शव गाड्ने गरिन्छ ।
पुरानो शव खाडलबाट निकालेर जङ्गलमा फाल्ने गर्दा जङ्गलभरी मानव कंकाल र हड्डीहरु जताततै भेटिने गरेका छन् ।
जंगलमा रहेका २ खाडल बाहेक अरु ठाउँमा खाडल खन्नै नपाइने स्थानिय राकेश चुनाराले बताए ।
उनले भने, “शव गाड्न अन्यत्र खाल्डो खन्न पाइदैँन । सुरुमा शव जलाउछौँ तर काचो दाउराले आधा शव मात्रै जल्छ । शवको बाँकी रहेको भाग खाडलमा हाल्छौँ, तर मन्दीहरुमा जात्रा लाग्ने समयमा शव जलाउनै पाइदैन् । नियम विपरीत गएमा देवता लाग्छ भन्ने गरिन्छ । तर हामी दलितले मात्रै नदीमा दाहसंस्कार गर्न नपाउँदा जातीय विभेद होकी भन्ने पनि लाग्छ । खाडलमा धेरै गन्हाउछ । तर थुक्न पाइदैन् भने खाडल पुर्न समेत पुरानै ढुंगा प्रयोग गर्नुपर्छ । नयाँ ढुंगामाटो खनेर शव पुर्न पाइदैन् ।”
उक्त ठाउँमा महिला पुरुषको अलग अलग २ खाडल बनाइएको चुनाराको भनाई छ । खाडलको नाम “जेठी बहुरानी” नामाकरण गरिएको छ ।
यसरी एकै खाडलमा शव पुर्ने तरिका वातावरणीय र स्वास्थ्यका दृष्टीकोणले उपयुक्त नभएको बताइन्छ । जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले भने,“जङ्गलमा पुरानो शव निकालेर नयाँ गाड्ने चलन त्यति राम्रो भने मानिदैन् । कसको मृत्यु कुन रोगबाट भएको हो सुरुवा रोग होकी ?, त्यो पनी समस्या आउँछ भने, जङ्गली जनावरले शव लुछ्ने हुदाँ रोग फैलन सक्छन् । स्वास्थ्यका दृष्टीकोणले जोखीम देखिन्छ ।”
वातावरणीय र स्वास्थ्यका दृष्टीकोणले समेत जोखीम पुर्ण रहेको एकै ठाउँमा शव गाड्ने परम्परा संग विभेद जोडिएको अधिकारकर्मी सरस्वती नेपालीले बताइन् । यो कुरा भरखरै जानकारीमा आएकाले यस बिषयमा अध्ययन गरी मानव अधिकारको विरुद्धमा देखिए यस बिषयमा वकालत गर्ने उनले बताइन् ।
गैर सरकारी संस्था महासंघ बैतडीका अध्यक्ष गोविन्दराज जोशीले उक्त परम्परा मानवीयताको बिरुद्धमा भएको बताए । उनले भने,‘मान्छेलाई मृत्यु पश्चात समेत अपहेलना गरेको पाइयो । त्यहाँका मानिसहरुको चेतनाको स्तरका बिषयमा प्रश्न चिह्न खडा भएको छ । यस बिषयमा राज्यपक्षको ध्यान जानुपर्छ । पुरानो शव निकालेर नयाँ गाड्ने कुरा सुन्दै खतरनाक छ । यो संस्कार रोकेर र वैज्ञानिक तवरले दाहसंस्कार गर्ने प्रचलन बसाउनुपर्छ ।’