बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाँउका ३७ बर्षिय बाशुदेव जोशीको हत्या प्रकरणका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–८ कै तोलीका २५बर्षिय महेन्द्र विष्ट रहेकाछन् ।
उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।
‘अभियुक्त लाई सोमबार दिउँसो पक्राउ गरेका हौँ, उनि मृतकको घर नजिककैमा व्यक्ति हुन्, अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयमा पुगाएका छौँ, पूर्ण विवरण पछि खोल्छौँ,’ उनले भने ।
बाशुदेव जोशीको शव शनिबार राती ८ बजेको समयमा घर नजिकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
मृतक जोशीको शव पनि आफन्तलाई बुझाइएको छ ।
अभियुक्तले बाटो ढुकेर बसेको र जोशीको हत्या गरेको प्रहरीको भनाई छ ।
हत्या घटनामा अन्य केही जना समेत संलग्न रहेको हुनसक्ने अनुमान प्रहरीको छ । घटना योजनाबद्ध र नियोजित रुपमा भएकाले दोषीमाथि कडा सजायकोे माग आफन्तले गरेका छन् ।
मृतक जोशीलाई गत चैत २९ गते एक महिलालाई कुटपिट गरेको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय पुगेर दुबै पक्षकाबीच मिलापत्र भएको थियो ।
घटना गत फागुनतिर भएको र दुबै पक्षबीच पुनः बिवाद भएपछि जिल्ला प्रहरी कार्यालय पुगेर सहमती भएपछि घर फर्किएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।