बैतडी ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले मेलौली र पञ्चेश्वरका खोज तथा उद्धारकर्ताहरुलाई पुर्नताजगी तालिम दिएको छ ।
मेलौली नगरपालिका–८र९, पञ्चेश्वर गाउँपालिका–१ तथा दशरथचन्द नगरपालिकाका ३जनालाई पाटनमा तालिम दिइएको हो ।
उक्त तालिममा विपदबाट आफु बच्ने तथा अरुलाई उद्धार गर्ने बिषयमा प्रशिक्षण गरिएको रेडक्रस जिल्ला शाखाका मन्त्री रमेश भण्डारीले बताए । तालिममा सहभागी भएका ४१ जनालाई मंगलबार प्रमाणपत्र वितरण गरि तालिम सम्पन्न गरिएको उनले बताए ।
तालिमको प्रशिक्षण डोटीबाट आएका कोर्स कोर्डिनेटर कर्ण साउद सहित ५ जना प्रशिक्षकले गरेका थिए । तालिममा आगलागी, बाढी, पहिरो, भुकम्प तथा सबै प्रकारका विपद पीडितको खोज तथा उद्धारका बिषयमा प्रशिक्षण गरिएको कोर्स कोर्डिनेटर साउदले बताए ।
तालिम ३ दिनसम्म सञ्चालन भएको रेडक्रस बैतडीका कार्यक्रम संयोजक कमला राईले बताइन् । जिल्ला शाखा बैतडीको आयोजनामा भएको तालिम अमेरिकन रेडक्रस द्वारा सञ्चालीत “सुरक्षीत नेपाल” कार्यक्रमको सहयोगमा सञ्चालन गरिएको उनले बताइन् ।
तालिममा सिकेका कुराहरुलाई व्यहारमा प्रयोग गर्ने तालिमकी प्रशिक्षार्थी लक्ष्मी विसीले बताइन् । आफुहरुले यसअघि उद्धारकर्ता हुन्छन् भन्ने सुनेको भएपनी देख्न नपाएको र अहिले तालिम लिएकाले विपदका बेला खोज तथा उद्धारमा खटिन योग्य भएको बताइन् ।
अहिले आफुहरु प्रशिक्षार्थी भएपनी भोलीका दिनमा प्रशिक्षक बन्न सक्ने सहभागीहरुको विश्वास छ ।