बैतडी ।
बैतडी जिल्ला सदरमुकाम कै छेउमा ३ वटा घनाबस्ती रहेको जर्ग गाउँ छ । जहाँका बासिन्दाहरु दैनिक जिल्ला सदरमुकाम ओहोर–दोहोर गर्छन् ।
उनिहरुले हिड्ने प्रमुख बाटोमा भिटा भिर पर्दछ । उक्त भिरमा हिड्ने क्रममा १महिना अघि एक स्थानीयले ज्यान गुमाएका थिए । उक्त घटना पहिलो भने होइन् । १५बर्ष अघि एकजना सरकारी सेवामा कार्यरत कर्मचारी कार्यालय जानेबेला माथीबाट आएको ढुंगाले लागेपछी ज्यान गुमाएका थिए ।
यस्तै ३ दशक अघि घाँस काट्ने क्रममा पनि एक व्यक्तिले ज्यान गुमाएका थिए । मान्छेको ज्यान लिने जोखीमपुर्ण उक्त भीरको बाटो बनाउन कुनै निकायको ध्यान गएको थिएन् ।
तर अहिले भने दशरथचन्द नगरपालिकाले रेलिङ सहितको बाटो निर्माण गर्न सुरु गरेको छ । चालुआर्थिक बर्षमा नगरपालिकाले छुट्याएको १०लाख रकममा रेलिङ जाली सहितको बाटो निर्माण हुन लागेको हो ।
दशरथचन्द नगरपालिकाले खोलेको ठेक्कामा शिवसंकर निर्माण सेवाले ठेक्का पाएपछी काम सुरु गरिएको छ । अप्ठ्यारो ठाउँमा १सय ८० मिटरसम्म बाटोको तलपट्टी जाली सहितको रेलिङ लगाइने निर्माण व्यवसायी बिरेन्द्र पाण्डेयले बताए ।
बाटो निर्माण भएपछि दैनिक आवतजावत गर्न सहज हुने दशरथचन्द नगरपालिका–४का वडासदस्य देवराम लोहारले बताए । उनले भने,‘यस बाटोमा दैनिक साना–साना विद्यार्थीहरु विद्यालय जाने, बिरामी मान्छे अस्पताल जाने, किनमेलका लागी बजार जाने, यहाँ दर्जनौँ उद्यमी भएकाले तरकारी र दुध बेच्ने गाउँलेहरु ओहोर–दोहोर गर्दछन् । तर बाटो एकदमै जोखीम भएकाले अहिले निर्माण सुरु गरेका हौँ । आगामी दिनमा पुराना दुर्घटना नदोहोरिने अपेक्षा छ ।’
भीटा भीरको बाटो एकदमै जोखीम भएकाले सहज बनाउन आगामी आर्थिक बर्षमा पनि बजेट बिनियोजन गर्ने नगरप्रमुख पुष्कर राज जोशी “लख्खाभाइर्”ले बताए । उक्त बाटोमा सोलार बत्ती समेत जडान गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
भीरको बाटो व्यवस्थीत बनाइदाँ सबै गाउँलेहरु खुसी भएको स्थानिय बिष्णु पाण्डेय बताउछन् ।