बैतडीको पाटन नगरपालिका–५ त्रिपुरेश्वर माविकी छात्रा शविता ठगुन्नाको एसइईको परीक्षामा उनका भाइले सहयोग गरिरहेका छन् । सबिताको हात भाँचिएपछि भाई मुकेशले सहयोग गरीरहेका हुन् । मुकेश कक्षा ९ मा अध्ययनरत छन् । उनले आफ्नी दिदीको एसइई परीक्षामा दिदी सविताले बताएअनुसार उत्तर पुस्तिकामा लेख्ने गरेका छन् । ‘दिदीको दाहिने हात भाँचिएको छ, त्यसैले सहयोग गरिरहेको हु,’ मुकेशले भने ।
शविताको परीक्षा केन्द्र सुर्नया गाउँपालिका–२ नेपाल राष्ट्रिय माविमा रहेको छ । अशक्त परीक्षार्थीको एक कक्षा मुनिको विद्यार्थीले लेख्नमा सहयोग गर्न पाउने प्रावधान अनुरूप उनका भाइले सहयोग गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्कर राज शर्माले जानकारी दिए ।
परीक्षा केन्द्रका केन्द्राध्यक्ष राजेन्द्र बिष्टका अनुसार अशक्त विद्यार्थीहरुका लागि अलग्गै बस्ने व्यवस्था मिलाइएको छ । ‘शान्त बसाइ व्यवस्थापन र खानेपानीको सहज व्यवस्था मिलाएका छौँ, समन्वयको आधारमा सहजीकरण गरीदिएका छौँ, उनिहरु नियमित परीक्षामा सहभागिता जनाइरहेका छन्,’ उनले भने ।
जिल्लाको दशरथचन्द नगरपालिका २ की निरा लुहार जन्मजात आँखा नदेख्ने छात्रा हुन । उनि पनि बहिनी भुमिका लुहारको मद्दतमा एसइई दिइरहेकी छन् । ‘आँखा देख्दिन, बहिनि भुमिकाको सहयोगमा एसइई दिइरहेकी छु, बहिनीले कक्षा ९ को परीक्षा दिइसकेकी हो, अहिले मलाई सहयोग गरीरहेकी छ, बहिनीले आफुले बताए अनुसार लेखिरहेकी छे, राम्रो ग्रेड ल्याएर पास हुन्छु भन्ने लाग्छ,’ परीक्षा सकेर फर्किनेबेला निराले भनिन् ।
जिल्लाको पुर्चाैडी नगरपालिका ६ की दिपा कुमारी विकको पनि हात भाँचिएको छ । उनको परीक्षामा उनका भाइ महेश बिकले सहयोग गरीरहेका छन् । उनी प्रौल मावि बाँगामा परीक्षा दिइरहेकी छन् ।
शारीरिक रुपमा अशक्तका लागि आवश्यक सहजिकरणको व्यवस्थापन गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रशाद अवस्थीले बताए । ‘आवस्यक सहजीकरण भइरहेको छ, शान्त वातावरणमा परीक्षा सञ्चालन भइरहेका छन्,’ उनले भने ।