बैतडी ।
बैतडीबाट निर्वाचीत संघीय सांसद एवं नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले विकास निर्माणका लागी स्थाई सरकारको जरुरत रहेको बताएकाछन् । दशरथचन्द नगरपालिका बैतडीको स्थापना दिवसको सम्बोधन गर्दै पुर्व उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका भण्डारीले विकास निर्माणका कामहरुलाई पुर्णता दिन स्थाई सरकारको आवस्यकता रहेको बताएका हुन् ।
उनले भारत, चीन, अमेरीका जस्ता देशहरुमा स्थाई सरकार भएकै कारण विकास निर्माणले तिब्र गति लिएको भन्दै नेपालमा समेत स्थाई सरकार आवस्यक रहेको बताए । मन्त्री बनेको समयमा विकास निर्माणलाई तिब्र गतिमा अघी बढाउन खोजेकै बेला सरकारबाट बाहिरिनु परेपनि कतिपय महत्वपुर्ण कामहरु सुरुवात गरेको बताए ।
उनले नेपाल–भारत सिमानदी महाकालीमा झुलाघाट स्थीत मोटरेवल पूल निर्माण गर्न भारतीय राजदुत संग छलफल गरी प्रकृया थालनी गर्न सुरुवात गरेको बताए । भारत, चीन, कोरियाका राजदुतहरु संग छलफल गरि विकास निर्माणमा साझेदारी गर्ने प्रकृया सुरु गर्न खोजेको उनको भनाई छ । उद्योगका लागी निजी क्षेत्रसंग समेत सहकार्य गर्ने प्रयास गरेका भण्डारीले केहि महत्वपुर्ण उद्योगहरुको काम अघि बढाएका थिए ।
फरक प्रसंगमा पुर्व मन्त्री भण्डारीले माओवादी नेतृत्वको वर्तमान सरकार धेरै समय टिक्ने सम्भावना नहरेको दावी गरेका छन् । हाल सम्म सरकारले पुर्णता नपाउनु, सुदुरपश्चिम प्रदेश सरकारले अझै पुर्णता नपाउनु सरकारका अशुभ लक्षणका रुपमा रहेको बताए ।
सुक्रबार आयोजना गरिएको वार्षिकोत्सवमा उनले दशरथचन्द नगरपालिकाको समग्र क्षेत्रको विकासका लागी आफ्नो तहबाट पहल गरिने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार विकासका लागी सधैँ नगरपालिकाको साथमा रहने बताए ।
घोषणा गरेका सबैकाम पुरा गछौँ : मेयर लख्खाभाई
नगर प्रमुख पुष्कर राज जोशी "लख्खाभाई" को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सांसद भण्डारी रहेका थिए ।
स्थापना दिवसको समापन गर्दै मेयर जोशीले आफुले जनता सामू गरेका सबै प्रतिवद्धताहरु पुरा गर्ने बताए । उनले नगरबस सञ्चालन गर्ने लगायतका केहि कामहरु सुरुवात गर्न बाँकी रहेको स्मरण गर्दै अहिले संघीय सरकारले नै सवारी साधन खरिदमा रोक लगाएको बताए । आगामी दिनमा बस सञ्चालन देखी निति तथा कार्यक्रममा घोषणा भएका सबै काम पुरा गर्ने बताए ।
अबदेखी हरेक सुक्रबार नगरबासीको गुनासो सुन्नका लागी हेलो मेयर कार्यक्रम सुरु गरिएको नगर प्रमुख जोशीको भनाई छ । वार्षिकोत्सवकै अवसरमा नगरको लोगो सार्वजनिक गर्नु, स्थानीय पाठ्यक्रम निर्माण गरी विमोचन गर्नु नयाँ सुरुवात भएको उनको भनाई थियो । नगरपालिकाले गरेका विकास निर्माणका प्रयासहरुमा सहयोग गर्न र गलत कामहरुको आलोचना गरेर सुधारका लागी सुझाव दिन समेत उनको आग्रह छ ।
दशरथचन्द नगरपालिकाले यसबर्ष देखी स्थापना दिवस मनाउन सुरु गरेको र अबदेखी हरेक बर्ष दिवस मनाइने बताए । उनले आफुहरुको कार्यकाल सकिएपछी नयाँ आउने जनप्रतिनिधीहरुले समेत वार्षिकोत्सव मनाउने बताए ।