बैतडी,
करिव ३बर्ष अघि पञ्चेश्वर गाउँपालिकामा विद्युत विस्तार आयोजनाको काम सुरुभयो । दुर्गम गाउँका अन्धकार वस्तीहरुमा उज्यालो हुने र आयोजना निर्माण कार्यमा मजदुरी गर्न पाइने भन्दै स्थानियबासीको मनमा खुसी छायो ।
विद्युत विस्तारको ठेक्का पाएका रामेछापका ठेकेदार कुमार खड्काले स्थााियबासीहरुलाई मजदुरीको काम पनि दिए । महिला तथा पुरुष मजदुरहरुले खुसी हुदैँ भोक तिर्खा नभनी इमान्दारीताका साथ काम गरे ।
महिला मजदुरहरुले दैनिक घरायसी काम रोकेर, बालबच्चालाई एकछाक खाना खुवाएर विद्युतको खम्बा र तार बोक्ने तथा खम्बाहरु गाड्ने काम गरे ।
मजदुरहरुले दैनिक भोकभोकै कडा मेहेनत गरिरहे । काममा खटाउने ठेकेदारका मान्छे केहि दिनमै भुक्तानी गरेर कामदारको पैषा तिर्ने भन्दै जिल्ला बाहिर गए । तर ति मान्छे अझै फर्केर आएनन् भने, विद्युत विस्तारको काम पनि अलपत्र छाडिएको छ ।
मजदुरलाई पैषा दिने ठेकेदार सम्पर्क विहिन हुदाँ कडा काममा पसिना बगाएका मजदुर अहिले भने पीडाको आशु बगाइरहेकाछन् ।
उनिहरुले नत विजुली बाल्न पाए, नत मजदुरीको पैषा नै । ठेकेदारले भने ५० प्रतिशत मात्रै काम सम्पन्न गरेर पनि ७० प्रतिशत भुक्तानी लिइसके छन् ।
मजदुरको दैनिक छाकटार्ने समस्या कसले सुनिदिने ? पञ्चेश्वर ४की गीता चन्दले भनिन्,‘केहि पैषा आउने शासले साना बालबच्चाहरुलाई घरमै भोकै राखेर कहिले नगरेको अप्ठ्यारो काम गरेका हौँ तर महिनौ बितिसक्यो ज्याला पाएनौँ । अब कसरी घर खर्च चलाउने । काम गरिरहेको बेला उधारो खाएको पसलेको पैसा तिर्ने पीरले सताएको छ ।’
आफ्नो गाउँका १५ जना महिलाले ४५ दिनसम्म दिनभर बिद्युत खम्बा र तारहरु बोक्ने काम गरेको स्थानिय जानकी चन्दले बताइन् । दिनमा मजदुरी गरेर साझँ छाकटार्ने मजदुरहरुलाई २महिना सम्म गरेको कामको ज्याला नपाउदाँ समस्या भएको स्थानिय कृष्णराम कोलीले बताए ।
ठेकेदारले काम अधुरैमा छोडेकाले विद्युत खम्बाहरु र तारहरु समेत चोरिन थालेका छन् । स्थानिय प्रकाश चन्दले भने ‘केहि ठाउँमा विद्युत सामग्री अलपत्र छन् । कतिपय सामान चोरिसके, केहि खोलाले बगाइसक्यो । कामदारको समस्या एकातिर छ, कसले बुझिदिने ?’
यसरी ठेकेदारबाट काम वाफतको पैषा नपाउनेमा २दर्जन बढी मजदुर रहेकाछन् । मजदुरहरुलाई काममा खटाउने दीपक चन्द पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीको हिरासतमा छन् भने, ठेकेदारसंग पैषा मागिदिने भनेकी उपाध्यक्ष भट्ट झनै तनावमा छिन् ।
ठेकेदार अहिले कामदारको सम्पर्कमा छैनन् ।
ठेकेदार खड्काले १५ दिन भित्र कामदारको पैषा चुक्ता गर्ने बताएका छन् । उनले भने,‘केहि प्रतिशत पैषा पहिला पनि दिइसकेको छु, १०–१२लाख रकम दिन बाँकी छ । मैलेपनि पुरै भुक्तानी लिन बाँकी छ । केहि काम पनि सम्पन्न गर्न बाँकी छ । काम पनि सम्पन्न गर्छु र कामदारको पैषा पनि तिर्छु ।’
विद्युत आयोजनाको ९५ प्रतिशत काम सम्पन्न गरिसकेको ठेकेदारको दावी छ । तर कामको अवस्था हेर्दा भने काम अलपत्र जस्तै देखिन्छ ।