बैतडी,
नेकपा एकिकृत समाजवादी पार्टी संगठन विस्तार अभियानलाई तिव्रता दिने अभियान थाल्ने भएको छ ।
मंगलबार सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको बुधबार आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । संगठन विस्तार अभियान अन्तरगत हरेक स्थानिय तहमा पार्टीको केन्द्रीय कमिटी सदस्यले अनिवार्य पुग्ने कार्यक्रम रहेको पाटी जिल्ला अध्यक्ष महादेव भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले हाम्रो पार्टीको आकार सानो भएपनि केहि समयमै ठुलो आकारको पार्टी भएको देख्न पाइनेछ । पार्टी स्थापना भएको १६महिनामै राम्रो प्रगति देखिएको छ ।’
पार्टीका पोलिटव्युरो सदस्य राम कुमार ज्ञवालीले पार्टी अहिले वैचारीक एकताको अभियानमा जुटेको बताउनुुभयो । उहाँले भन्नुभयो,‘हामीहरु नेकपा एमालेमा नेतृत्वबाटै बैचारीक बिचलन देखिन थालेकाले विचारको विद्रोह गरेका हौँ । अहिले पनि गाउँघरमा गएर माक्र्सवाद को ज्ञान प्रदान गर्नु जरुरी छ । हामी त्यो अभियानमा लाग्दैछौँ ।’
पार्टीका अर्का पोलिटव्युरो सदस्य एंव बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले विकास निर्माणका क्रियाकलापहरुमा आफ्नो पार्टीको चासो रहेको बताउनुुभयो । उहाँले भन्नुभयो,‘अहिले सोचे अनुरुपको विकास बजेट खर्च हुन सकेको छैन् । गतबर्ष यस महिना सम्म ४५ प्रतिशत रकम खर्च भैसकेको थियो तर अहिले १५ प्रतिशत रकम समेत खर्च भएको छैन् । अधिकांश ठुला आयोजनाहरु अलपत्र छन् । हरेक कार्यालयमा पुगेको विकास निर्माणको प्रगती विवरण माग्नुपर्ने बेला आएको छ । हाम्रो पार्टी त्यो अभियानमा लाग्छ ।’
पार्टी केन्द्रीय कमिटी सदस्य मायाँ भट्टले गाउँगाउँमा गएर पार्टीको कार्यदिशा सिद्धान्त र नितिहरुको पाठ सिकाउन जरुरत रहेको बताउनुभयो । विगतमा पनि आफुहरु गाउँगाउँ पुगेर कम्युनिष्ट विचारको पाठ सिकाएको स्मरण गर्दै उहाँले अहिलेको नयाँ पुस्ता संग विचारको बहस गरी पार्टीको सुदृढीकरण अभियान सञ्चालन गर्ने बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय कमिटी सदस्य नरेन्द्र विष्टले आफ्नो पार्टीले आजको माक्र्सवादको परिकल्पना गरेकाले उक्त शिक्षा सर्वसाधारण नागरिकलाई दिन आवस्यक रहेको बताउनुभयो । विगतमा माक्सवादी विद्यालय समेत सञ्चालन गर्ने परिकल्पना आनुसार आफ्नो पार्टीको अग्रज नेताहरु लागेको भन्दै उहाँले सोहि अभ्यासको थालनी आवस्यक रहेको बताउनुभयो ।