बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा रहेको सनातन धर्म मावि खोचलेकमा प्रथम विद्यालय सरसफाइ सम्मेलन सम्पन्न भएको छ । विद्यालयलाई तीनतारे घोषणा गर्ने उद्येश्यले सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिनुभयो ।
रोटरी क्लबको आर्थिक सहयोग तथा संयोजन नेपालको प्राविधिक सहयोगमा विद्यालयमा सरसफाइ तथा स्वच्छतासम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि विद्यालयले सम्मेलनको आयोजना गरेको हो ।
तीनतारे विद्यालय घोषणा गर्न खानेपानी, सरसफाइ तथा स्वच्छतासम्वन्धिका विभिन्न ७ सुचक पार गर्नका लागि विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । जसअन्तरगत विद्यालयमा आवश्यकताअनुसार मैत्रीपूर्ण शौचालय निर्माण,शौचालयमा साबुनपानी,शौचालयमा नियमित सरसफाइ,विद्यालयमा सेनेटरी प्याडको प्रयोग गरि उचित व्यवस्थापन,सुरक्षित खानेपानीका लागि फिल्टरको व्यवस्था,कक्षाकोठामा डस्टबिन राखिएको र फोहोर वर्गीकरण गरि उचित व्यवस्थापन गर्नेलगायतका कार्यहरू भईरहेका छन् ।
यसको दिगोपना र नियमितताका लागि विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता कोष स्थापना गरिएको प्रधानाध्यापक नाथले बताउनुभयो ।
विद्यालयलाई केहि महिनाभित्रै तीनतारे घोषणाा गर्ने विद्यालयको लक्ष्य रहेको छ । सम्मेलनमा दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती ऐरी कार्की,शिक्षा विकास तथा समन्वय ईकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थी, वडा नम्बर ३ का अध्यक्ष कालुराम सार्की,विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुँवर,रोटरी क्लब,संयोजन नेपालका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थित रहेको थियो ।