बैतडी,
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल बैतडीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले बैतडी जस्तो दुर्गम जिल्लामा बेलाबेला हुने कर्मचारी अभावको अवस्था लाई हटाउने बताएका हुन् ।
उनले सुशासनका लागि कर्मचारीको अभाव हटाउन जरुरी रहेकाले त्यसमा आफ्नो भुमिका रहने बताए ।
पत्रकारहरुले उठाएको खानीहरु सञ्चालनको विषयमा बोल्दै मन्त्री भण्डारीले बैतडीमा रहेका चुनढुंगा, खरी तथा फलाम खानीहरु सञ्चालनमा ल्याउन लागि परेको बताए । केहि खानीको अध्ययन समेत भैसकेको उल्लेख गर्दै उनले बाँकी काम सम्पन्न गर्नेमा जोड दिए । मन्त्री भण्डारीले भने,‘खानिहरुको अध्ययन, उत्खनन र सञ्चालनका लागि पहल गरिरहेको छु । केहि काम भएको छ केहि काम गर्दैछौँ ।’
नेपाल–भारत सिमानदी महाकालीमा पक्की पुल निर्माण गर्न आफु प्रतिवद्ध रहेको उनको भनाई छ । मन्त्री भण्डारीले आफ्नो भारतीय राजदुत नविन श्रीवास्तव संग भएको भेटमा समेत उक्त कुरा उठाएकोमा भारतीय पक्ष सकारात्मक रहेको बताए ।
उनले सुदुरपश्चिम संग जोडिएका महाकाली नदिका ८ ठाउँमा मोटरेवल पुल बनाउन सरकारले पहल थालेको बताए ।
यसैगरी पाटन स्थीत विमानस्थल नियमीत सञ्चालनका लागि आफ्नो पहल कदमी जारी रहेको उनको भनाई छ । अहिले सरकारी बिमान कम भएकोमा खरिद गर्ने र निजी क्षेत्र संग भएका बिमान सञ्चालनको पहल भैरहेको बताए ।
सरकारको स्थायीत्वका बिषयमा प्रश्न उठेको र नेपाली कांग्रेसले राष्टीय सहमतीका नाममा सक्त कव्जा गर्न खोजेको सन्दर्भमा मन्त्री भण्डारीले विकास, सम्वृद्धि र व्यापार घाटाको अन्त्य गर्न राष्टीय सहमती खोजिने बताए । उनले सत्तामा जानका लागि नभई देशको सम्बृद्धिका लागि राष्ट्रिय सहमती खोज्नु जरुरी रहेको बताए ।
मंसिर ४को निर्वाचन पछि प्राप्त जनमतका आधारमा वर्तमान सरकार निर्माण भएकाले उक्त जनमतको कदर गर्दै काम गर्न दिन कांग्रेसलाई आग्रह गरे ।