बैतडी-बैतडीको मेलौली नगरपालिका-७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ । तल्लो स्वराड क्षेत्रका तीन स्थानीय तहका नागरिकहरूलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र करिब एक वर्षदेखि डाक्टरविहीन बनेको हो । एकजना मेडिकल अधिकृत (एमबिबिएस डाक्टर) को दरबन्दी भए पनि २०७८ असोजपछि दरबन्दी रिक्त रहेको छ ।
दरबन्दीअनुसार डाक्टर नहुँदा तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका स्थानीयहरूलाई समस्या हुने गरेको मेलौली नगरपालिका–७ का स्थानीय केशवसिंह भाटले बताए । ‘डाक्टर हुँदा यतै स्वास्थ्य उपचार सेवा पाउँथ्यौं’, उनले भने ‘अहिले एक वर्षजति भयो बाहिर जानुपरेको छ ।’ यहाँका स्थानीयहरू सामान्य खालको उपचारका लागि पनि महँगो शुल्क तिरेर टाढा-टाढा धाउनुपर्ने बाध्यतामा छन् । एमबिबिएस डाक्टरको अभावमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध रहेको सेवा लिनका लागि अहिले जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल धाउनुपरेको उनले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रले विसं २०५६ सालदेखि नै डाक्टरको अभाव झेल्दै आएको छ । बीच-बीचमा डाक्टर आउने गरेको भए पनि बढीमा एक/दुई वर्ष बस्ने अनि जाने गरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । ‘प्राथमिक स्वास्थ्य केन्द्रले ०५६ यतादेखि नै दरबन्दीअनुसारको डाक्टर पाउन सकेको छैन,’ उनले भने ‘सेवाप्रवाहमा समस्या हुने गरेको भए पनि हामीले भ्याउनेजति काम गरिरहेका छौं ।’
दुर्गम ठाउँ भएका कारण डाक्टर आए पनि एक-दुई वर्षमा नै जाने गरेका छन् । २०५६ सालमा एकजना डाक्टरका लागि दरबन्दी स्वीकृति भए पनि आएका डाक्टर लामो समय नबस्ने गरेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायणबहादुर चन्दले बताए । रिक्त मेडिकल अधिकृतको पदपूर्तिका लागि नगरपालिकाले १५ दिने सूचना प्रकाशित गरेको भए पनि कसैको पनि आवेदन नपरेको चन्दले जानकारी दिए । ‘रिक्त दरबन्दीको पदपूर्तिका लागि १५ दिने सूचना प्रकाशित गरेका थियौं, कसैको पनि आवेदन परेको छैन,’ उनले भने ‘डाक्टर पाए भने तुरुन्तै भर्ना गर्ने तयारीमा छौं ।’
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टम गर्नका लागिसमेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । यस्तै, निरोगिताका प्रमाणपत्रलगायत अन्य कामका लागि समेत जिल्ला नै धाउनुपर्ने अवस्था रहिआएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरमात्रै नभएर स्टाफ नर्ससमेत छैनन् । एकजना स्टाफ नर्सको दरबन्दी भएको केन्द्रमा लामो समयदेखि दरबन्दी रिक्त रहेको जनस्वास्थ्य निरीक्षक दयालले बताए ।